काठमाडौ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको आज १५ दिन पुग्यो । दाजु हराएको १५ दिन पुगेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् ।
दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनीले फोटोसहित कसैले देखेमा सम्पर्कका लागि अनुरोध गरेकी हुन् ।
उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जालमार्फत दाजुको लागि पुकारा गरिरहेकी छिन् ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका पण्डित परिवार विगत १४ दिनदेखि पीडामा रहेका छन् । दिनरात छोराको खबरको प्रतीक्षा गर्दै घरमा वृद्ध बुवाआमाले दिन बिताइरहेका छन् भने बहिनीले सामाजिक सञ्जालमार्फत दाजुको सकुशलताका लागि कामना गरिरहेकी छिन् ।
इभिनिङ वाकमा गार्डसमेत नलिई ब्यारेकबाट यहीँ भदौ १० गते साँझ निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सम्पर्कविहिन भएको भोलीपल्टबाट खोजविन थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै कारणसमेत फेला पर्न सकेका छैनन् ।
