काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालेका छन् ।
शनिबार एक कार्यक्रमबीच उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सरुवा भएका एआईजी श्यामलाल ज्ञवालीको विदाई गर्दै एआईजी थापालाई विशेष स्वागत गरेको हो ।
केहिदिनघि बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआईजीको सरुवा गर्दै एआईजी थापालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको जिम्मेवारीमा खटाएको थियो ।
एआईजी थापा व्यावसायीक प्रहरी अधिकारीका रुपमा परिचित छन् । यसअघि थापा प्रधान कार्यालय प्रशासन विभागको जिम्मेवारीमा थिए ।

अपराध अनुसन्धान तथा कमाण्ड क्षमतामा अब्बल एआईजी थापाले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको सफल कमाण्ड सम्हालेका थिए ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा थापाले बागमति प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । थापा प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका अधिकारी हुन् । उनी कुँवरपछि आईजी हुने लाइनमा छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ । काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयले नियन्त्रण गर्ने गर्छ ।

