पछिल्लो समय नेपाल प्रहरीले दुई चर्चित प्रकरण अनुसन्धानमा देखाएको तदारुकता र साहसको यतिबेला चौतर्फी चर्चा भइरहेको छ । प्रहरीको कामको चर्चा मात्रै भइरहेको छैन्, स्वयं संगठनभित्र पनि आत्मबल जगाउने काम गरिरहेका छन् प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर ।
पहिलो नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानपछि आफ्नै तालुक मन्त्रालयका पूर्वमन्त्री र पूर्वसचिव पुर्पक्षका लागि जेल पुगेका छन् । शरणार्थी प्रकरण सेलाउन नपाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले चर्चित ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर सनसनी मच्चाइरहेको छ ।
जसले गर्दा नेपाल प्रहरीको कामको प्रशंसा व्यापक छ । प्रहरीले काम गर्न पायो भने यहाँ (नेपाल) का सबै भ्रष्टहरु खोरमा जानेछन् । प्रहरीको पछिल्लो दुई अनुसन्धानले यस कुरालाई पुष्टि गरिदिएको छ । प्रहरीकै बहालवाला एक अधिकृत भन्छन्, ‘आईजीसाप समेत सरकारको निर्देशनअनुसार भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा हुनुहुन्छ ।’
गत बुधबार अपरान्ह भन्सार पास भएपछि राजस्व अनुसन्धान विभागले करिब १०० किलो तस्करीको सुन बरामद गर्यो । उक्त सुन भन्सारको जाँचपास छलेर कसरी कहाँबाट पास भएर बाहिर पुग्यो ? भनेर अनेकन प्रश्नहरु उब्जिएको बेला उक्त सुनको अनुसन्धानको जिम्मा सिआईबीलाई दिनुपर्ने भन्दै आवाज उठेको छ ।
प्रभावकारी अनुसन्धान गर्ने सिआईबीले सुन तस्करी प्रकरणको पनि सफल अनुसन्धान गर्नेमा अधिकांश विश्वस्त छन् । सिआईबीलाई अनुसन्धान गर्न दिएको अवस्थामा सुन तस्करी प्रकरणको धेरै कुराहरु खुल्नेछ । त्यसैले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत भएको समयमा सिआईबीलाई अनुसन्धान गर्न दिँदा सकारात्मक सन्देश जानेछ ।
सिआईबीको अनुसन्धान प्रभावकारी हुने बताउँदै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसको लागि पहल गर्नुपर्ने देखिन्छ । त्यतिमात्र होइन विदेशबाट नेपाल आउँदा भन्सारले गर्ने जाँचपासमा नेपाल प्रहरीलाई समेत राख्न जरुरी देखिन्छ । जसको लागि गृहमन्त्री श्रेष्ठ सकारात्मक रहेको बुझिएको छ ।
जाँचपासको लागि भन्सारका कर्मचारी बस्ने ठाउँमा नेपाल प्रहरीलाई राख्ने हो भने तस्करीमार्फत आउने सामानहरुमा कमी आउने बताइन्छ । जसको लागि गृहमन्त्री श्रेष्ठ तात्नुपर्ने हुन्छ । हत्तपत्त कोही कसैले प्रहरीसँग डिल गरेर सामान ल्याउन सक्दैनन ।
यता, तस्करीको सुन बरामद प्रकरणमा भन्सार विभाग आफैंले छानबिन समिति गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । भन्सारका कर्मचारीहरुकै मिलेमतोमा सुन बाहिरिएको हुनसक्ने अड्कलबाजी छ । तर, यकिन भएको छैन ।
तर, भन्सारले सुन बाहिरिनुमा आफ्नो कर्मचारीको कमजोरी देखेपछि भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिसकेको छ ।सुन भन्सार पास गराउनुमा उनीहरुको संलग्नता देखेपछि निलम्बन गरिएको भन्सारले जनाएको छ ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले कर्मचारीहरुले उच्च निगरानी गर्न नसक्दा सुन भन्सारबाट बाहिरिएको स्वीकार गरेका छन् । ‘यी विषयमा थप छानबिन हुँदैछ, त्यसबाट हामी थप कुरा पत्ता लगाउछौं, उनले भने ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको छ । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक पौडेलले छानबिन समिति गठन गरेका हुन् ।
आफ्नै कर्मचारीहरुको कारण सुन बाहिरिएको प्रष्ट छ । अनि भन्सार विभाग आफैं छानबिन समिति गठन गरेर जनतालाई झुक्याउने काम पनि गरिरहेको हो कि भन्ने प्रश्न पनि तेर्सिएको छ । यदी साँच्चै नै राम्रो र प्रभावकारी अनुसन्धान भन्सार विभागले चाहन्छ भने सिआईबीलाई अनुसन्धान गर्न दिएर सहयोग गर्नुपर्छ ।
गत बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । यति धेरै परिमाणमा सुन बरामद भएको पहिलोपटक हो ।
