काठमाडौं । नेपाल प्रहरीमा कार्यरत लेखापालको पदावधी नीतिलाई परिवर्तन गरिएको छ । ८ वर्षे पदावधि नीतिलाई परिवर्तन गर्दै ६ वर्षे बनाइएको हो ।
नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले पदावधी नीतिलाई परिवर्तन गर्दै ६ वर्षे बनाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुवेर कडायतका अनुसार नीतिगत निर्णय गर्ने निकाय पिसिसिले सो निर्णय गरेको हो ।
पिसिसिको निर्णय पश्चात प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले निर्णय कार्यान्वयनका लागि सर्कुलर गर्न निर्देशन दिएका छन् ।
यसअघिका आईजी धिरजप्रताप सिंहले ६ वर्षलाई बढाएर ८ वर्षे पदावधि बनाएका थिए । सिंहको उक्त निर्णयले केही प्रहरीलाई फाइदा भएपनि धेरै प्रहरीलाई घाटा नै थियो । त्यसैले उनको चर्को आलोचना समेत भएको थियो ।
त्यसै कुरालाई मध्यनजर गर्दै वर्तमान आईजी कुँवरले वर्ष दिनमै तत्कालिन आईजी सिंहको निर्णयलाई उल्टाइदिएका हुन् । आईजी कुँवर पछिल्लो समय संगठनको फाइदाको लागि बुझेरै मात्र निर्णय लिने गरेका छन् ।
८ वर्षे पदावधि राख्दा लेखाको तालिम गरेका थुप्रै लेखापालहरू अवसरबाट वञ्चित हुने भएपछि आईजी कुँवरले ६ वर्षे नीति ल्याएका हुन् । एकाएक पदावधि घटाउने प्रस्तावपछि संगठनमा एकखालको उत्साह छाएको छ ।
प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । प्रहरीमा एकजना लेखा अधिकृतले ६ वर्ष लेखाको जिम्मेवारीमा काम गर्न पाउँछन् ।
प्रहरीमा लेखापालको दरबन्दीलाई आकर्षक पोस्टिङको रूपमा लिइन्छ । बजेट सञ्चालनको जिम्मेवारी पाउने लेखापाल मार्फत सम्बन्धित युनिट इन्चार्जहरू पनि फाइदा लिने गरेको जानकारहरू बताउँछन् ।
