काठमाडौं । मोतिखोलामा पक्की पुल नहुँदा गोरखाको भिमसेन थापा गाउँपालिका, ३ र आरुघाट गाउँपालिका, ८ का बासिन्दाहरुलाई आवातजावत गर्न समस्या गएको छ ।
दुई गाउँपालिकाको सिमा समाप्त र सिमा सुरु हुने ठाउँ नै यहि मोतिखोला हो । जहाँ एउटा पक्की पुल समेत नहुँदा आवातजावतलाई नै समस्या भएको छ ।
यस खोलामा पुल नहुँदा बिशेषगरी आरुपोखरी, ८ आलेगाँउ र कौसिनी गाउँको बासिन्दालाई दैनिक उपभोग्य समान खरिदका लागि साथै विद्यार्थीहरुको पढाइमा समेत ठूलो असर परेको छ ।
वर्षायामको समयमा जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।
आले गाउँ र कौसिनी गाउँ जहाँबाट पढ्नको लागि भिमसेनथापा गाउँपालिका, ३ मा रहेको श्री संस्कृत माध्यामिक विद्यालयमा जाने विद्यार्थी तथा शिक्षकको संख्या धेरै नै छन् ।
तर, जब बर्खा लाग्छ खोला तर्न नसक्ने अवस्थामा हुन्छ र आवातजावतको लागि नै ठूलो असर पार्दछ । खोला ठूलो भएकै कारणले गर्दा विद्यार्थी पढ्नसमेत जानसक्ने अवस्था नरहेको स्थानीय नेता आशिष खनाल बताउँछन् ।
यहाँ पुल नभएकै कारणले पानी परेपछि पढ्न जान नपाएको विद्यार्थीहरुको समेत गुनासो छ । पुल नभएको कारण लामो बाटो पैदल हिँडेर पढ्नको लागि आरुघाट बजार गएर पढ्नपर्ने बाध्यतामा छन् ।
आर्थिक अवस्था राम्रो भएको घरपरिवारले त राम्रै ठाउँमा लगेर पढाउन सक्छन् । तर आर्थिक अवस्था कमजोर भएको परिवारले कसरी आफ्नो बालबालिकालाई कहाँ पढाउने ? गम्भीर प्रश्न उब्जेको छ ।
पुल नभएकै कारणले र खोला ठूलो भएको कारणले बच्चा विद्यालय जान नमान्ने र बिचमा नै पढ्न छाडेको समेत अभिभावकको गुनासो रहेको छ । जहाँ एउटा धेरै पुरानो काठेपुल त रहेको खनालले बताए ।
तर, धेरै पटक स्थानीय जुटेर मर्मत गर्दापनि खासै प्रभावकारी नभएपछि अहिले स्थानीयहरु धेरै चिन्तित भएका छन् । तर यस विषयमा कसैलेपनि ध्यान नदिएको दुवै पालिकाका स्थानीयहरुको गुनासो छ ।
यसरी दुःख पाउँदा पनि सम्बन्धित सरोकारवाला निकायहरुले समेत खासै चासो नदिएको आरुघाट गाउँपालिका कौसिनीका स्थानीय नेता तथा समाजसेवी डण्डपानी खनालले बताए ।
उनले भने, बर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर मात्रै हुन्छ । यस क्षेत्रबाट संघमा राजेन्द्र बजगाईं, प्रदेशमा नन्दु न्यौपाने निर्वाचित जनप्रतिनिधि हुन् ।
