काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् ।
शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् ।
‘प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन,’ श्रेष्ठले दाबीसमेत गरे ।
यसअघि प्रहरीको सरुवादेखि बढुवासम्मको सूची गृह मन्त्रालय वा बालुवाटारले तयार पारेर प्रहरी प्रधान कार्यालयमा बुझाउने गरेको थियो । त्यसलाई नै सदर गर्न प्रधान कार्यालय बाध्य हुन्थ्यो ।
तर, अहिले त्यस्तो अवस्थामा नरहेको मन्त्री श्रेष्ठ बताउँछन् । प्रहरीलाई दिएको काम बिना राजनीतिक हस्तक्षेप भइरहेको समेत मन्त्री श्रेष्ठले दाबी गरे ।
