सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिकालाई भेट्न गएका एक युवकको रहस्यमय मृत्यु भएको छ। प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार मंसिर ३ गते बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए।
तत्काल उपचारका लागि उनलाई मोडेल अस्पताल लालबन्दी पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

