कैलाली । सशस्त्र प्रहरी बलको कम्ब्याट पोसाक लगाएर सडकपेटीमा सुतेको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–४, गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१, त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश धामी रहेका छन्।
धामीले सशस्त्र प्रहरी बलको कम्ब्याट पोसाक लगाएर एक व्यक्ति सडकपेटीमा सुतिरहेको भिडियो बनाई टिकटकमा पोस्ट गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सशस्त्र प्रहरी बलले भिडियोमा देखिएका व्यक्ति आफ्नो संगठनका सदस्य नरहेको स्पष्ट पारेको थियो।
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी भ्रामक सन्देश जाने सामग्री प्रसारण गरेको विषयमा संगठनले चासो देखाउँदै संलग्न व्यक्तिहरूको खोजी र कारबाही प्रक्रिया अघि बढाएको थियो।
सोही क्रममा प्रहरीले धामीलाई बुधबार नियन्त्रणमा लिएर कार्यालयमा ल्याई सम्झाइबुझाइ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सशस्त्र प्रहरीले यसअघि नै संगठनको पोसाक, दर्ज्यानी चिह्न तथा पहिचान झल्किने सामग्री असम्बन्धित व्यक्तिले प्रयोग नगर्न आग्रह गरेको थियो।

