काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीका गुनासा सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ।
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको हस्ताक्षरमा जारी पत्रअनुसार अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा टोली गठन गरिएको हो।
टोलीलाई तल्लो तहका प्रहरी कर्मचारीका समस्या, मर्का र गुनासा सुन्ने, अभिलेख राख्ने तथा तिनको समयमै सम्बोधनका लागि सम्बन्धित कार्यालयसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
टोलीमा कार्य विभागका डीएसपी कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका प्रहरी निरीक्षक प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाकी प्रहरी निरीक्षक सञ्चिता श्रेष्ठ र कल्याण महाशाखाकी प्रहरी वरिष्ठ नायब निरीक्षक शान्ता लक्ष्मी बलामी सदस्य छन्।
त्यस्तै, अपराध अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर देउजा र विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे पनि टोलीमा समेटिएका छन्।
प्रहरी प्रधान कार्यालयको यो पहलले संगठनको तल्लो तहमा कार्यरत कर्मचारीका समस्या र गुनासालाई संस्थागत रूपमा सुन्ने तथा समाधानका लागि समन्वय गर्ने व्यवस्था अघि बढाएको छ।

