काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो।
इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए। यसअघि यही प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।
प्रहरीको अनुसन्धानअनुसार इजरायलमा केयर गिभरको काममा पठाइदिने भन्दै आरोपीहरूले करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेका छन्। संकलित रकममध्ये डेढ करोड रुपैयाँ भरत चौलागाईंलाई दिएको बालिका सिवाकोटीले बयानमा खुलाएकी छन्। खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको प्रहरीले जनाएको छ।
सरकारले सन् २०२४ मा इजरायलमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो। लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए। छनोटमा नपरेका १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिँदै चौलागाईं समूहले रकम असुलेको प्रहरीको निष्कर्ष छ।

