काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा र नेपाल इन्जिनियरिङ सेवातर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। त्यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फका नायब महालेखापरीक्षकलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
त्यस्तै, सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।
बुढा यसअघि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव तथा प्रवक्ताका रूपमा कार्यरत थिए। सचिव बढुवा सिफारिसमा पटक-पटक पर्दै आएका बुढा पछिल्लो रिक्त पदमा सचिवमा बढुवा भएका हुन्।

