काठमाडौं । नेकपा एमालेले मंसिरको पहिलो साता काठमाडौंमा करिब २० हजार कार्यकर्ता सहभागी गराएर राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव महेश बस्नेतले स्थायी कमिटी बैठकपछि यस्तो जानकारी दिएका हुन्।
बस्नेतका अनुसार पार्टीभित्र देखिएका अन्तर्विरोध समाधान गरिएको छ भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे पनि स्पष्ट धारणा बनाइएको छ। पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई क्रमशः जिम्मेवारी हस्तान्तरण गर्ने नीति एमालेले लिएको उनको भनाइ छ।
एमालेले संगठनात्मक गतिविधिसँगै जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने जनाएको छ। महँगी, भ्रष्टाचार र अनियमितताविरुद्ध आन्दोलनको तयारी भइरहेको बस्नेतले बताए।
उनका अनुसार मंसिरको पहिलो साता हुने राष्ट्रिय भेलामा पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिसहित करिब २० हजार कार्यकर्ता सहभागी हुनेछन्।एमालेले तल्लो तहको संगठनात्मक गतिविधिलाई समेत तीव्रता दिने निर्णय गरेको छ।
मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बस्नेतले सरकारलाई ‘अधिनायकवादी’ भएको आरोप लगाए।

