काठमाडौं । बडादशैं, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ।
चाडपर्वका समयमा हुन सक्ने चोरी–डकैती, जुवातास, सट्टेबाजी, कालोबजारी, सीमा अपराध, सडक दुर्घटना तथा डिजिटल ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।
नेपाल प्रहरीले चाडपर्वका समयमा नागरिकको सहज आवागमन, बैंक तथा वित्तीय संस्थाको सुरक्षा, बजारको निगरानी र धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई सुरक्षित बनाउन ५० हजार ४५८ जना प्रहरी जनशक्ति परिचालन गर्ने जनाएको छ।
प्रहरीका अनुसार देशभर प्रहरी नायब महानिरीक्षकको कमाण्डमा सुरक्षा जनशक्ति परिचालन हुनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा व्यवस्थापन गरिनेछ।
मुख्य बजारदेखि सीमा नाकासम्म विशेष निगरानी
चाडपर्वमा चोरी, लुटपाट तथा डकैतीका घटना बढ्न सक्ने भएकाले प्रमुख बजार, सपिङ मल तथा मार्ट, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन क्षेत्र, सुनचाँदी कारोबार हुने क्षेत्र र शहरका प्रवेश तथा निकास नाकामा विशेष निगरानी बढाइने प्रहरीले जनाएको छ।
यसका लागि पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, क्विक रेस्पोन्स टिम (QRT), लामो दूरीको गस्ती, सादा पोशाकका प्रहरी तथा आकस्मिक चेकजाँच परिचालन गरिनेछ।
मुख्य नाका तथा शंकास्पद स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरी चेकजाँचसमेत गरिनेछ। ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँचलाई पनि प्रभावकारी बनाइनेछ।
अन्तर्राष्ट्रिय सीमा नाकामा मात्रै १०८ वटा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ भने देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।
लामो दूरीका यात्रामा विशेष निगरानी
चाडपर्वमा घर फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातमा विशेष निगरानी गरिने भएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीका चालकको लाइसेन्स, मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) जाँच गरिनेछ। सवारी साधनको यान्त्रिक अवस्था परीक्षण गरिएको प्रमाणपत्रसमेत जाँच हुनेछ।
सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको, छतमा सामान राखे–नराखेको तथा चालकको लापरवाहीलगायत विषयमा कडाइ गरिने प्रहरीले जनाएको छ।
यात्रुको सुरक्षाका लागि TCA (Traffic Communication Application) प्रयोग गरिनेछ। यसले एउटा चेकपोस्टमा भएको जाँचबारे अर्को चेकपोस्टलाई समेत जानकारी हुने भएकाले एउटै सवारी र चालकको निगरानी थप प्रभावकारी हुने प्रहरीको भनाइ छ।
यात्रु सहायता कक्षबाट टिकट, सडक मार्ग, सुरक्षा तथा गुनासोसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै हराएका तथा भेटिएका व्यक्ति र सामानको समन्वय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता र यात्रुको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने व्यवस्था गरिनेछ।
ड्रोन, CCTV र Body-Worn Camera बाट निगरानी
नेपाल प्रहरीले यसपटक प्रविधिमा आधारित सुरक्षा निगरानीलाई समेत प्राथमिकता दिएको छ।
प्रमुख बजार, चोक, नाका तथा भीडभाड हुने क्षेत्रमा CCTV बाट निगरानी गरिनेछ। आवश्यक स्थानमा ५२ वटा ड्रोन प्रयोग गरी हवाई निगरानी गरिनेछ भने प्रहरी परिचालनमा Body-Worn Camera को प्रयोगसमेत गरिनेछ।
प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमा सूचना आदान–प्रदान गर्ने तथा डिजिटल सूचना र सामाजिक सञ्जालमा देखिएका गतिविधिको समेत निगरानी गरिने योजना छ।
AI प्रयोग गरेर हुने ठगीमा पनि प्रहरीको नजर
चाडपर्वमा अनलाइन कारोबार बढ्ने भएकाले डिजिटल ठगीलाई पनि प्रहरीले सुरक्षा योजनाको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ।
नक्कली अनलाइन सपिङ तथा ‘फेस्टिभल अफर’, नक्कली लटरी वा उपहार, फेक इन्भेस्टमेन्ट तथा नाफाको योजना, QR कोड र डिजिटल पेमेन्ट ठगी, मोबाइल बैंकिङ तथा वालेटसम्बन्धी ठगी र OTP, PIN तथा पासवर्ड माग्ने फिसिङमा निगरानी बढाइनेछ।
त्यसैगरी पछिल्लो समय बढ्दै गएको AI बाट तयार पारिएका नक्कली अडियो, भिडियो तथा आवाज प्रयोग गरी हुने ठगी र व्यक्तिको नक्कली पहिचान (Impersonation) लाई समेत प्रहरीले विशेष निगरानीमा राखेको छ।
प्रहरीले नागरिकलाई OTP, PIN, Password, Banking Credential लगायतका गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ।
जुवातास, सट्टेबाजी र अवैध पटका नियन्त्रणमा कडाइ
चाडपर्वका नाममा हुने जुवातास, अवैध सट्टेबाजी, अत्यधिक मदिरा सेवन, झैझगडा तथा सार्वजनिक स्थानमा हुने उच्छृङ्खल गतिविधि नियन्त्रणमा समेत प्रहरीले विशेष निगरानी गर्नेछ।
अन्तर्राष्ट्रिय खुला सीमा नाकाबाट पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण रोक्न विशेष चेकजाँच गरिनेछ।
त्यसैगरी भन्सार छलीका सामानको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव, महँगो मूल्य असुली तथा म्याद गुज्रिएका वा मिसावटयुक्त खाद्य सामग्रीको बिक्री रोक्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन गरिनेछ।
घर खाली छोडेर जाने नागरिकलाई प्रहरीको आग्रह
चाडपर्वमा लामो समयका लागि घरबाट बाहिर जाने नागरिकलाई प्रहरीले घरको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ।
ढोका–झ्याल, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गरेर मात्र घर छाड्न र आफू घरमा नरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ।
आवासीय क्षेत्रमा स्थानीय समुदाय तथा टोल समितिसँग समन्वय गरी CCTV र Alarm System प्रयोग गर्न प्रोत्साहन गरिनेछ। लामो समय घर छाडेर जाने नागरिकलाई छिमेकी वा स्थानीय प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान
नेपाल प्रहरीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रम, भीडभाड हुने स्थान र सार्वजनिक क्षेत्रमा हुन सक्ने झैझगडा, लुटपाट तथा अन्य अप्रिय घटनालाई रोक्न थप सुरक्षा परिचालन गरिनेछ।
प्रहरीको आग्रह–‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्’
नेपाल प्रहरीले सुरक्षित चाडपर्व निर्माण प्रहरीको मात्रै जिम्मेवारी नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायको साझा जिम्मेवारी भएको जनाएको छ।
प्रहरीले भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा सावधानी अपनाउन, मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
त्यसैगरी आफन्त वा सरकारी अधिकारीको नाममा AI बाट बनाइएको आवाज वा भिडियो पठाएर असामान्य रकम मागिएमा तत्काल विश्वास नगर्न र कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
नेपाल प्रहरीले ‘सूचना–प्रविधि–प्रहरी परिचालन–नागरिक सहकार्य’ लाई आधार बनाएर चाडपर्व सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
प्रहरीले नागरिकलाई आश्वस्त पार्दै भनेको छ- ‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ।’
आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ।

