काठमाडौं । स्मार्ट सेल (स्मार्ट टेलिकम) को सम्पत्ति लिलामी तथा एनसेलको शेयर खरिद–बिक्रीसँग जोडिएको अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित विषयमा अप्रमाणित तथा तथ्यहीन विवरणलाई आधार बनाएर समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो।
सीआईबीका अनुसार नेपाल सरकारको हक कायम भइसकेको स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी राज्यको हक हटाउने प्रयास भएको तथा संगठित रूपमा आपराधिक विश्वासघात र ठगी गरिएको विषयमा अनुसन्धान भएको हो। सोही क्रममा एनसेलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित कसुरसमेत अनुसन्धानको दायरामा आएको ब्यूरोले जनाएको छ।
सीआईबीले अनुसन्धान पूरा गरी सम्बन्धित कसुरको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको जनाएको छ। साथै आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सम्पत्ति शुद्धीकरणलगायतका विषयमा समेत अनुसन्धान जारी रहेको जनाएको छ।
पछिल्लो समय स्मार्ट सेलको सम्पत्ति लिलामी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानका आधारमा २२ जनाविरुद्ध अभियोजन अघि बढाउन सिफारिस गरेको विवरणसमेत सार्वजनिक भएका छन्। अनुसन्धानका क्रममा स्मार्ट टेलिकमको सम्पत्ति सरकारको नियन्त्रणमा आइसकेपछि त्यसको लिलामी प्रक्रिया कानुनसम्मत थियो कि थिएन भन्ने विषयलाई प्रमुख आधार बनाइएको देखिन्छ।
सार्वजनिक विवरणअनुसार सीआईबीले स्मार्ट सेलको सम्पत्ति प्रकरणमा पूर्व तथा वर्तमान बैंकिङ क्षेत्रका अधिकारी, कम्पनीका पदाधिकारी तथा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसमेत अनुसन्धानको दायरामा ल्याएको थियो। यसक्रममा विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
यस्तो संवेदनशील आर्थिक तथा आपराधिक अनुसन्धानमा अनुसन्धान पूरा नहुँदै विभिन्न कोणबाट निष्कर्ष निकाल्ने वा अप्रमाणित दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्दा अनुसन्धान प्रक्रिया र सम्बन्धित निकायप्रतिको जनविश्वासमा असर पर्न सक्ने सुरक्षा निकायको बुझाइ छ।
सीआईबीले आफ्नो विज्ञप्तिमा अनुसन्धानका क्रममा प्राप्त तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा विषय अघि बढाइएको जनाउँदै अनुसन्धानसँग असम्बन्धित वा अप्रमाणित विषयलाई जोडेर भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेको छ।
सीआईबीले पछिल्ला वर्षहरूमा बैंकिङ कसुर, ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, धितोपत्र तथा आर्थिक अपराधका जटिल प्रकरणमा अनुसन्धान गर्दै आएको छ। ब्यूरोको आधिकारिक विवरणअनुसार पछिल्लो समय पनि बैंकिङ कसुरदेखि हुण्डी, धितोपत्र, ठगी तथा सरकारी सम्पत्तिसँग सम्बन्धित विभिन्न कसुरमा अनुसन्धान तथा पक्राउका काम अघि बढाइएका छन्।
स्मार्ट सेल प्रकरणमा समेत सीआईबीले अनुसन्धानलाई निष्कर्षमा पुर्याएर कानुनी प्रक्रियामा अघि बढाइसकेको अवस्थामा अब अन्तिम निर्णय गर्ने अधिकार अदालतमा पुगेको छ। त्यसैले अनुसन्धानका क्रममा उठेका विषयलाई तथ्य र प्रमाणका आधारमा हेर्नुपर्ने तथा अप्रमाणित आरोपलाई आधार बनाएर अनुसन्धानकर्तामाथि नै प्रश्न उठाउनेभन्दा सम्बन्धित कानुनी प्रक्रियाको निष्कर्ष पर्खनुपर्ने अवस्था देखिन्छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले अनुसन्धानसँग सम्बन्धित विषयमा अप्रमाणित विवरण उद्धृत गरी भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन नगर्न आग्रह गरेका छन्।


