काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा गम्भीर आरोपसहित उजुरी परेको छ।
उजुरीमा सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको ‘पार्टनर’ भएको दाबी गर्दै दुवै जना विभिन्न आर्थिक तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।
खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा स्वदेश तथा विदेशबाट ठूलो रकम उठाएर हिनामिना गरेको र उक्त रकम व्यवस्थापनको जिम्मेवारी प्रस्तावित राजदूत गिरीबहादुर सुनारले सम्हाल्दै आएको दाबी उजुरीमा गरिएको छ।
त्यस्तै, विभिन्न व्यक्तिबाट उठाइएको रकम खगेन्द्र सुनारका परिवारका सदस्यहरुको बैंक खातामा राख्ने र पछिल्लो समय गिरीबहादुर सुनारमार्फत व्यवस्थापन गर्ने गरिएको आरोपसमेत उजुरीमा लगाइएको छ।
उजुरीमा यी दुईको संलग्नता राजनीतिक पद र प्रहरीको उच्च तहको बढुवासम्म पुगेको दाबी गरिएको छ। सांसद बनाइदिने भन्दै रकम असुलेकोदेखि नेपाल प्रहरीका एआईजीको बढुवामा समेत आर्थिक चलखेल भएको आरोप उजुरीमा समेटिएको छ।
त्यसैगरी, खगेन्द्र सुनारविरुद्ध विचाराधीन विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस भएको अडियो प्रमाण नै गायब पारिएको र त्यसमा प्रस्तावित राजदूत गिरीबहादुरको भूमिका रहेको दाबीसमेत उजुरीमा गरिएको छ।
उजुरीमा खगेन्द्र सुनारमाथि जबरजस्ती करणी, प्रहरीमाथि आक्रमण तथा हतियार लुटपाटजस्ता गम्भीर आरोपसमेत लगाइएको छ। यस्तै, आफूहरुविरुद्ध बोल्ने वा रकम फिर्ता माग्ने व्यक्तिलाई धम्क्याउन गुण्डा नाइके प्रयोग गर्ने गरेको आरोप पनि उजुरीमा समेटिएको छ।
गिरीबहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनारसहितको समूहले मन्त्रालयमा दबाब र लबिङ गरेको तथा राजनीतिक भागबण्डाका आधारमा कूटनीतिक क्षमता नभएको व्यक्तिलाई सिफारिस गरिएको दाबीसमेत उजुरीकर्ताले गरेका छन्।
उजुरीकर्ताले प्रस्तावित राजदूत सुनारमाथि लगाइएका आरोपहरुको निष्पक्ष छानबिन गरेर मात्र अनुमोदन प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिसँग माग गरेका छन्।

तस्बिर : रातोपाटी

