काठमाडौं । कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको हो।
आफ्नो छोरालाई कोरिया पठाउने भन्दै कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत गुनासो गरेकी थिइन्। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै घटनामा छानबिन गरी कारबाही गर्न माग गरेकी थिइन्।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महिलाले उठाएको विषयमाथि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–११ घर भई काठमाडौंको सामाखुसी बस्दै आएका पाण्डेलाई काठमाडौंको रानीबारी चोकबाट नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीले पीडितको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गुनासोलाई आधार बनाएर अनुसन्धान अघि बढाउँदै आरोपितलाई पक्राउ गरेको हो।

