काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा र राजमार्ग सुरक्षालाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
भारतबाट घर फर्किने नेपालीलाई सहजीकरणदेखि सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र राजमार्गमा हुने सम्भावित विपद् तथा दुर्घटनाको प्रतिकार्यसम्मलाई योजनामा समेटिएको छ।
सशस्त्र प्रहरीले भारतसँग जोडिएका विभिन्न सीमानाकामा १४६ वटा हेल्प डेस्क स्थापना गर्ने भएको छ। कतिपय नाकामा हेल्प डेस्क सञ्चालनमा आइसकेका छन् भने बाँकी स्थानमा स्थापना गर्ने काम भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमानाकामा उनीहरूलाई आवश्यक सहजीकरण गर्दै सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सुरक्षा व्यवस्था मिलाइएको हो।
मुख्य चार नाकामा तालिमप्राप्त कुकुरसहितको टोली
सशस्त्र प्रहरीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन झापा, पर्सा, रुपन्देही र कैलालीका प्रमुख सीमानाकामा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ।
सीमानाकामा हुने लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समेत समन्वय र सहकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
यससँगै सीमा क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई आवश्यक सूचना तथा सुरक्षा सहजीकरण उपलब्ध गराउने गरी जनशक्ति परिचालन गरिएको छ।
राजमार्गमा ५५ प्रतिकार्य बेस
चाडपर्वको समयमा सडकमा यात्रुको चाप बढ्ने र मौसमका कारण राजमार्गमा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले राजमार्ग सुरक्षामा समेत विशेष तयारी गरेको छ।
चाडपर्व अवधिभर ५५ वटा मनसुनजन्य प्रतिकार्य बेस राख्ने निर्णय गरिएको छ। सम्भावित बाढी, पहिरो तथा सडक अवरोधका घटनामा तत्काल परिचालन हुन सक्ने गरी जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
डिआइजी कार्कीका अनुसार राजमार्गमा एम्बुलेन्ससहित आरआरटी (र्यापिड रेस्पोन्स टिम) समेत परिचालन गरिएको छ।
‘यसपटक मौसमको विषयलाई समेत समेटेर सुरक्षा योजना बनाइएको छ,’ डिआइजी कार्कीले भने, ‘राजमार्गमा एम्बुलेन्ससहित आरआरटी टोली पनि खटिएका छन्।’
सशस्त्र प्रहरीको सुरक्षा योजनाले चाडपर्वका बेला सीमानाकामा स्वदेश फर्किने नेपालीको सहजीकरण, सीमा अपराध नियन्त्रण तथा राजमार्गमा सम्भावित विपद्को तत्काल प्रतिकार्यलाई प्राथमिकतामा राखेको छ।
चाडपर्वमा बढ्ने यात्रुको चाप र सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले सीमा र राजमार्ग दुवैतर्फ आफ्नो उपस्थिति तथा निगरानी बढाएको हो।

