मकवानपुरको नेवारपानी प्रहरी चौकीअन्तर्गत रहेको चेकपोस्टमा सवारीसाधन जाँचका नाममा व्यवसायी तथा चालकलाई अनावश्यक दुःख दिने र रकम असुल्ने गरेको गुनासोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ।
नेवारपानी चेकपोस्ट विगतमा पनि प्रहरीको ‘असुली केन्द्र’का रूपमा चर्चामा आएको क्षेत्र हो। अहिले हेटौंडाबाट नारायणगढ तथा नारायणगढबाट हेटौंडातर्फ जाने सवारीसाधनलाई छुट्टाछुट्टै रोकेर जाँच गर्ने गरिएको छ।
सवारीसाधन जाँच गर्नु प्रहरीको नियमित जिम्मेवारी भए पनि जाँचका क्रममा व्यवसायी तथा चालकलाई अनावश्यक हैरानी दिने र विभिन्न बहानामा रकम माग्ने गरिएको गुनासो बढ्न थालेको छ।
पछिल्लो घटनाका रूपमा मंगलबार राति करिब १०ः२५ बजे धान काट्ने हार्भेस्टरलाई नेवारपानी चेकपोस्टमा रोकेर सहचालकको मोबाइल फुटाइएको र त्यसपछि १ सय रुपैयाँ लिएर सवारी छाडिएको आरोप सार्वजनिक भएको छ।
यदि उक्त आरोप सत्य हो भने यो सामान्य अनुशासनहीनताको विषय मात्र होइन, कानुन कार्यान्वयन गर्ने प्रहरी संगठनप्रतिको जनविश्वाससँग जोडिएको गम्भीर विषय हो।
यातायात व्यवसायी तथा चालकहरूका अनुसार नियमअनुसार सञ्चालनमा रहेका सवारीसाधनलाई समेत अनावश्यक रूपमा रोक्ने, कागजातमा सानातिना कमजोरी खोज्ने र विभिन्न शीर्षकमा रकम माग्ने प्रवृत्तिले उनीहरूलाई समस्या पर्ने गरेको छ।
त्यसैले प्रश्न उठ्छ- यदि नेवारपानी चेकपोस्टमा अनियमितता भइरहेको छ भने यसको अनुगमन कसले गर्ने? जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा गृह प्रशासनले यस्ता गुनासोमाथि प्रभावकारी छानबिन किन नगर्ने?
सम्बन्धित निकायले चेकपोस्टमा हुने गतिविधिको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ। साथै चेकपोस्टका गतिविधिलाई सीसीटीभी निगरानी र नियमित अनुगमनको दायरामा ल्याइनुपर्छ। आरोप पुष्टि भएमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ।
जनताको सेवामा खटिएको प्रहरी संगठनप्रतिको विश्वास कायम राख्न पनि यस्ता गुनासोलाई बेवास्ता नगरी सम्बन्धित निकायले तत्काल ध्यान दिन आवश्यक छ।

