काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै पनि अवस्थामा उन्मुक्ति नपाउने बताएका हुन्।
गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उनको भनाइ छ।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ गुरुङले भनेका छन्।
उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ।
‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ,’ उनले भनेका छन्।
गृहमन्त्री गुरुङको यो अभिव्यक्तिलाई गृह मन्त्रालय तथा सुरक्षा निकायभित्रबाट हुने सूचना चुहावटप्रति सरकार कडा रूपमा प्रस्तुत हुन खोजेको संकेतका रूपमा हेरिएको छ।

