काठमाडौं । नेपाली कांग्रेसकी नेतृ जानुका पन्तले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
पन्तले खस आर्य महिला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्। उनले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ गर्दै अधिकार र नेतृत्वको पहुँच विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएकी छन्।
महिलाको नेतृत्व र क्षमता विकासलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी पन्तले कांग्रेसभित्र तल्लो तहका कार्यकर्ताको भूमिका र अधिकारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
त्यस्तै, प्रत्यक्ष संवादमार्फत जनताका समस्या र मुद्दालाई पार्टीको प्राथमिकतामा राख्दै संगठनलाई थप सुदृढ बनाउने उनको भनाइ छ। उनले युवा सहभागिता, संगठन सुदृढीकरण र जनताका मुद्दामा केन्द्रित कांग्रेस निर्माणलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
पन्तले ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’लाई आफ्नो मुख्य नाराका रूपमा अघि सारेकी छन्।
उनी गोरखा क्षेत्र नम्बर १ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन्। गोरखा क्षेत्र नम्बर १ बाट ३३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुँदा पन्त पनि प्रतिनिधि बनेकी थिइन्।

