गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोरखाका नेता तथा इन्जिनियर दीपकबाबु कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गोरखा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित कँडेलले संगठन सुदृढीकरणसँगै गोरखाका स्थानीय मुद्दालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउने एजेन्डा अघि सारेका छन्।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय कँडेलले उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन्। युवालाई सीप र उद्यमसँग जोड्ने, स्थानीय उत्पादनलाई बजार तथा प्रविधिसँग जोड्ने र विदेशबाट फर्किएका नेपालीको सीप तथा पुँजी स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनको जोड छ।
पालुङटार नगरपालिकाका पूर्वमेयरसमेत रहेका कँडेलले ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपाल र सम्मानित नेपाली’ भन्ने नारासहित आफ्नो अभियान अघि बढाएका छन्।
