काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा पुगेर भेट्नु सशस्त्र प्रहरी बल नेपालका एआईजी बंशी दाहाललाई भारी परेको छ। अवकाशमा जान एक साता मात्रै बाँकी रहँदा सरकारले दाहाललाई निलम्बन गरी उनीमाथि छानबिन अघि बढाएको छ।
जबरालाई प्रहरी हिरासतमा राखिएको अवस्थामा दाहाल राति टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यहाँ उनले जबरासँग भेट गरेको विषयलाई लिएर सरकार र सुरक्षा निकायभित्र प्रश्न उठेपछि दाहालमाथि जाँचबुझ गर्ने निर्णय भएको हो।
दाहालमाथि हिरासतमा रहेका जबरासँग भेट्नुका साथै संवेदनशील सुरक्षा विषयमा शंकास्पद साँठगाँठ गरेको आशंका गरिएको स्रोतको दाबी छ। यही विषयमा विस्तृत छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको हो।
दाहाल र जबराबीच पारिवारिक नाता रहेको बताइन्छ। सोही सम्बन्धका आधारमा भेट भएको भनिए पनि सुरक्षा संगठनको उच्च तहमा रहेका अधिकारीले हिरासतमा रहेका व्यक्तिलाई भेटेको विषयलाई सरकारले गम्भीर रूपमा लिएको स्रोतको भनाइ छ।
दाहाल २०७९ सालमा एआईजीमा बढुवा भएका थिए। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीको पदावधि चार वर्ष हुन्छ। उनको नियमित पदावधि यही असोज २६ गते सकिँदैछ।
सरकारले चाहेमा एआईजीको पदावधि एक वर्ष थप गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले दाहालको पदावधि थपका लागि गृह मन्त्रालयमा पत्रसमेत पठाइसकेको थियो।
तर, पदावधि थपको विषय टुंगिनुअघि नै उनी निलम्बनमा परेका छन्। निलम्बनपछि अब दाहालको पदावधि थपको सम्भावना समेत अन्योलमा परेको छ।
सरकारले गठन गर्ने जाँचबुझ समितिको प्रतिवेदनपछि दाहालमाथि थप कारबाहीबारे निर्णय हुने बताइएको छ। छानबिनबाट आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय भने समितिको निष्कर्षपछि मात्रै स्पष्ट हुनेछ।
