काठमाडौं । सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
सशस्त्र प्रहरी बलको सिफारिसमा गृह मन्त्रालयले सोमबार दाहाललाई निलम्बन गरेको हो।
दाहालमाथि लागेको आरोपबारे विस्तृत छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ समिति गठन गरेको छ। समितिको जाँचबुझका लागि जाँचबुझ अधिकृतसमेत नियुक्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
दाहालको पदावधि आगामी २८ असोजमा सकिँदैछ। सशस्त्र प्रहरी बलमा एआईजीको पदावधि पाँच वर्षको हुने व्यवस्था छ। चार वर्ष पूरा भएपछि पदावधि थपका लागि सरकारले निर्णय गर्नुपर्ने हुन्छ।
दाहालले चार वर्षको पदावधि पूरा गरिसकेका छन्। तर, निलम्बनमा परेसँगै उनको पदावधि थप हुने सम्भावना कमजोर बनेको छ।
अब जाँचबुझ समितिको प्रतिवेदनका आधारमा दाहालमाथिको थप कारबाहीबारे निर्णय हुने बताइएको छ।
