काठमाडौं । अवकाशको तयारीमा रहेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल विवादमा तानिएका छन्।
संगठनको अनुमति र जानकारीबिनै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको विषयमा गृह मन्त्रालयको निर्देशनपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले दाहालसँग स्पष्टीकरण मागेको हो।
स्रोतका अनुसार प्रधान कार्यालय हलचोकले गत शुक्रबार दाहाललाई स्पष्टीकरण सोधेको हो। असोज ११ गते बिहान जबरा प्रहरी नियन्त्रणमा रहेका बेला दाहाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यही क्रममा जबरासँग भेट गरेको विषयलाई संगठनले ‘चेन अफ कमान्ड’ उल्लंघनका रूपमा लिएको स्रोतको दाबी छ।
दाहाल आगामी असोज २७ गते एआईजीको चारवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। उनको पदावधि एक वर्ष थप गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले गत बुधबार गृह मन्त्रालयमा पत्राचार गरेको थियो। तर, त्यसको भोलिपल्टै उनीसँग स्पष्टीकरण मागिएको हो।
हालसम्म गृह मन्त्रालयबाट भने दाहालको पदावधि थपसम्बन्धी प्रस्ताव अघि बढेको छैन।
सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५(ग) अनुसार एआईजी र डीआईजीको पदावधि चार वर्षको हुन्छ। नियमावलीले सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले चार वर्षपछि एआईजी तथा डीआईजीको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था गरेको छ।
दाहाललाई २०७९ असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यसअघि असोज ६ गते बसेको बढुवा सिफारिस समितिले उनलाई एआईजीका लागि सिफारिस गरेको थियो। बढुवापछि उनलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो।
यदि उनको पदावधि थप नभए सशस्त्र प्रहरीमा एआईजीको एक पद रिक्त हुनेछ। त्यसपछि डीआईजीबाट एआईजीमा बढुवा प्रक्रिया अघि बढ्नेछ।
के हो चोलेन्द्रसँगको भेटको विवाद?
पूर्वप्रधानन्यायाधीश जबरा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका बेला दाहालले उनलाई भेटेको विषय अहिले विवादमा आएको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा ‘सहजीकरण’ गर्न जबराले झापाका इनम सापकोटामार्फत चलखेल गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यही परिस्थितिमा दाहालले संगठनको औपचारिक अनुमति तथा जानकारीबिना जबरासँग भेट गरेको विषयलाई गम्भीर रूपमा लिइएको स्रोतको भनाइ छ।
दाहाल र जबराबीच पारिवारिक सम्बन्धसमेत रहेको बताइन्छ। दाहालले राणा परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन्।
