पर्सा । लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोपमा पर्सामा इन्सपेक्टरसहित तीन प्रहरीमाथि अनुसन्धान सुरु भएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा कार्यरत प्रहरी कर्मचारीले फरार अभियुक्तलाई पक्राउ गरेपछि रकम लिएर छाडेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे छानबिन अघि बढाएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा रकम लेनदेनमा प्रहरी हवल्दार र जवानसँगै इन्सपेक्टरको समेत संलग्नता देखिएपछि तीनै जनालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानका लागि इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई झिकाइएको हो।
पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार आरोपित प्रहरीहरूले घुसबापत लिएको भनिएको रकमसमेत बरामद भएको छ। घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको उनले बताए।
घटनाको विस्तृत छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनासँग सम्बन्धित व्यक्ति तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
छानबिन समितिको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइने र प्रतिवेदनका आधारमा इन्सपेक्टर अधिकारीसहित तीनै जनामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यद्यपि, प्रहरीमाथि लागेको आरोप छानबिनकै क्रममा रहेकाले आरोप पुष्टि भने हुन बाँकी छ।
