काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक गरी ठेक्का प्रक्रियामा छेडछाड गरेको आरोपमा प्रहरीले थप निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट एकैपटक ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार पक्राउ परेकाहरूको विवरण प्रहरीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।
दोस्रो तहको अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायीमध्ये हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल समेत छन्। मल्लको कम्पनीले गत वर्ष अपर मोदी हाइड्रोपावरको ठेक्का पाएको थियो।
यस्तै, कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे यसअघि यही प्रकरणमा पक्राउ परी धरौटीमा रिहा भएका थिए। आशिष निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली पनि गत वैशाखमा पक्राउ परेर धरौटीमा छुटेका थिए।
यस प्रकरणमा सरकारी कर्मचारी दिवाकर देउजालाई प्रहरीले मुख्य योजनाकारका रूपमा अनुसन्धान गरिरहेको छ। निर्माण व्यवसायीहरूसँग मिलेर सरकारी ठेक्का प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्का प्रक्रियामा छेडछाड गरेको आरोप उनीहरूमाथि छ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा भक्तबहादुर लामा र विष्णुमान लामा ए वान बिल्डर्स प्रालि, रितुबहादुर कार्की जय श्री महालक्ष्मी मल्टिप्रपोज कम्पनी, स्वदेश पोखरेल इन्कोन प्रालि, नारायणभक्त सितिखु मान कन्स्ट्रक्सन, गंगा बहादुर सिलवाल बैकुण्ठ कन्स्ट्रक्सन एन्ड सप्लायर्स र ध्रुव खनाल त्रिशक्ति कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि रहेका छन्।
पक्राउ परेका निर्माण व्यवसायीलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।