हेटौंडा । मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा प्रहरीकै मिलेमतोमा बारा–पर्साका विभिन्न नाका हुँदै भारतसम्म पुग्ने गरेको आरोप लागेको छ। स्रोतका अनुसार प्रहरीसँग ‘सेटिङ’ नमिलेका अवस्थामा मात्रै फाट्टफुट्ट गाँजा बरामद हुने गरेको र ठूलो परिमाणको गाँजा भने भारततर्फ जाने गरेको दाबी छ।
मकवानपुरको मनोहरी, लोथर, सुनाचुरीलगायत क्षेत्रबाट उत्पादित गाँजा प्रहरी चौकी क्षेत्र हुँदै बारा र पर्साका विभिन्न नाका पार गरी भारतको पूर्वी चम्पारणसम्म पुग्ने गरेको छ। बाराको रतनपुरी क्षेत्रमा उत्पादित गाँजा समेत तेलकुवा र मटिअर्वा नाकाबाट भारत जाने गरेको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्याम खत्रीको निर्देशनमा प्रहरी वरिष्ठ सई रामशरण दुलालमार्फत गाँजा तस्करीको ‘सेटिङ’ मिलाउने गरेको आरोप छ। तस्करीका लागि प्रतिकिलो करिब ८ सय रुपैयाँसम्म रकम लिने गरिएको बताइन्छ।
दुलाललाई एसपी खत्रीले उजुरी छानबिन शाखामा कार्यरत देखाएर जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको आरोप छ। यसअघि उनीमाथि बैंकिङ कसुरका उजुरीमा रकम मागेको आरोपसमेत लागेको थियो।
बागमती प्रदेश प्रहरी कार्यालयबाट कारबाहीका लागि सिफारिस भएका भनिएका दुलाललाई महत्वपूर्ण जिम्मेवारी दिइएको विषयमा जिल्ला प्रहरी कार्यालयभित्रै प्रश्न उठ्न थालेको छ।

