काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरका दाइ दीपकजंग ठाकुरविरुद्ध साइबर अपराधको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रहरीले ठाकुरलाई फरार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएपछि अभियोगपत्र दायर गरिएको हो।
अभियोगपत्रमा ठाकुरले फेसबुकमार्फत जाहेरवाला, उनका श्रीमान् तथा परिवारका महिला सदस्यलाई मानसिक तनाव र हैरानी दिने तथा प्रतिष्ठामा आघात पुग्ने किसिमका अश्लील तथा अमर्यादित सामग्री पोस्ट गरेको उल्लेख छ।
प्रहरीले जाहेरवालाले पेश गरेको स्क्रिनसट, प्राविधिक अनुसन्धान, फेसबुकको मातृ कम्पनी मेटाबाट प्राप्त विवरण तथा कल डिटेललाई प्रमाणका रूपमा समेटेको छ। घटनाका साक्षीका रूपमा दानबहादुर थापा मगर र इन्दु तुलाधरको बयानसमेत राखिएको छ।
ठाकुर फरार रहेको भन्दै अभियोगपत्रमा अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। तर, उनी काठमाडौंमै सार्वजनिक रूपमा देखिँदै आएको र उपसभामुखको क्वाटरमा समेत जाने गरेको विषय यसअघि सार्वजनिक भइसकेको थियो।
उपसभामुख ठाकुरले दीपक आफ्नो दाइ भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। उनी उपसभामुखको सचिवालयका काममा समेत संलग्न रहेको बताइएको छ।
अभियोग प्रमाणित भए ठाकुरलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

