चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न गरिएको पटक–पटकको प्रयास अझै सफल हुन सकेको छैन। आवश्यक प्राविधिक उपकरण, पर्याप्त स्रोत–साधन र पूर्वतयारीको अभावका कारण उद्धार कार्य लम्बिएको भन्दै प्रश्न उठ्न थालेका छन्।
भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै नारायणी नदीमा पानीको बहाव बढेपछि क्रुज बगेर नदीको पिल्लरमा अड्किएको थियो। क्रुज अड्किएपछि केही समय चितवन–नवलपुरतर्फको आवागमनसमेत प्रभावित भएको थियो।
घटनास्थलको निरीक्षण गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुज सञ्चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ। त्यसपछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू नारायणी किनारस्थित एक होटलमा करिब एक घण्टा छलफलमा बसेका थिए।
क्रुज निकाल्न बुटवलबाट क्रेन ल्याउनुका साथै त्रिशूली हाइड्रोपावरबाट समेत क्रेन ल्याएर प्रयास गरिएको थियो। तर, पटक–पटकको प्रयासपछि पनि क्रुजलाई सुरक्षित रूपमा निकाल्न सकिएको छैन।
उद्धार प्रयाससँगै यसको नेतृत्व, तयारी र सार्वजनिक अभिव्यक्तिमाथि समेत प्रश्न उठेको छ। घटनास्थलमा ‘क्रुज निकाल्न लागिएको’ र ‘केही समयमै निस्कने’ जस्ता अभिव्यक्ति आए पनि त्यसअनुसार आवश्यक उपकरण र प्राविधिक तयारी पर्याप्त नभएको आलोचना भइरहेको छ।
विशेषगरी जिल्ला प्रशासनको तयारी, उपलब्ध स्रोत–साधन र उद्धार योजनाबीचको समन्वयबारे प्रश्न उठेको छ। उद्धारभन्दा प्रचारात्मक गतिविधि बढी देखिएको भन्दै कतिपयले यसलाई ‘स्टन्ट’ को संज्ञासमेत दिएका छन्।
यद्यपि, नारायणीको तीव्र बहाव, क्रुज अड्किएको स्थान, पिल्लरको अवस्था तथा आवश्यक क्षमताको उपकरण तत्काल उपलब्ध हुन नसक्नु उद्धारका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
क्रुज अझै नारायणी नदीमै अड्किएको छ। अब प्रचारभन्दा प्राविधिक तयारी, पर्याप्त उपकरण र सुरक्षित उद्धार योजनालाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
