सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका एसपी सुमनजंग थापाका अनुसार शुक्रबार राति औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको १५ जनाको टोलीले राति करिब १ः३५ बजे जाँच गर्ने क्रममा ६ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो। तौल गर्दा गाँजा ११० किलो ७६० ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा औरही–२ का ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन्। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
