काठमाडौं । सरकारी मौज्दातमा रहेको करिब ९ ट्रक काठ कार्यालय प्रयोजनका लागि भन्दै बाहिर लगेर बिक्री गरेको तथा केही काठ निजी घरमा प्रयोग गरेको आरोपमा सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठमाथि छानबिन प्रक्रिया अघि बढ्ने भएको छ।
ललितपुरको मानभवनस्थित पुरानो राणाकालीन भवन भत्काउँदा निकालिएको उक्त काठमध्ये ठूलो हिस्सा मिल तथा फर्निचरमा लगेर बिक्री गरिएको र केही काठ बालकुमारीस्थित निजी घरमा पार्केटिङ तथा फर्निचर निर्माणमा प्रयोग गरिएको उजुरीमा दाबी गरिएको छ। उजुरीमा काठको मूल्य करिब ४ करोड रुपैयाँ बराबर रहेको उल्लेख छ।
श्रेष्ठ ललितपुरमा एसपी रहेका बेला काठ कार्यालय प्रयोजनका लागि भन्दै बाहिर लगिएको आरोप छ। उजुरी परेपछि वन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयबाट समेत सत्यतथ्य छानबिन अघि बढाइएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई उजुरीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। सम्बन्धित निकायबाट छानबिनको प्रतिवेदन आएपछि थप अध्ययन गरिने मन्त्रालयले जनाएको छ।
यद्यपि, उजुरीमा लगाइएका आरोपहरू हालसम्म पुष्टि भएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले आफूलाई यस विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।
