बारा । प्रहरीले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रति क्षेत्रबाट १५५ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको विशेष टोलीले शंकास्पद रूपमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कारलाई रोक्न खोज्दा चालकले कार नरोकी भगाएका थिए।
त्यसपछि प्रहरीले कारको पिछा गर्दै जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रतिस्थित कृष्ण फ्याक्ट्री अगाडिबाट कारलाई नियन्त्रणमा लिएको हो।
कार नियन्त्रणमा लिएर जाँच गर्दा रातो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित प्रहरीले कारका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने करिब २८ वर्षीय अम्बिर डिम्डुङलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका डिम्डुङलाई कारसहित इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
