विराटनगर । विराटनगर महानगरपालिका–१६ मा डेराको कोठाभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए।
कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा श्रेष्ठ फ्रिजमा टाँसिएको अवस्थामा मृत फेला परेका थिए।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार श्रेष्ठको मृत्यु दुईदेखि तीन दिनअघि नै भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
घटनास्थलको प्रारम्भिक अवस्थाका आधारमा फ्रिज खोल्ने क्रममा विद्युत् प्रवाह भई करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, उनको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।
डीएसपी मिश्रले भने, ‘फ्रिजमा टाँसिएको अवस्थामा डेरावाल मृत भेटिएका छन्। दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका गरिएको छ।’
श्रेष्ठकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेकी छन् भने छोरा काठमाडौंमा बस्दै आएका छन्। घटनाबारे जानकारी पाएपछि उनका छोरा विराटनगर आउँदै गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी श्रेष्ठको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ।
इन्स्पेक्टर घिमिरे नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। श्रेष्ठको मृत्यु करेन्ट लागेर भएको हो वा अन्य कारणले भन्ने विषय पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
