काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
यसैक्रममा काठमाडौं क्षेत्र नं. ५ का युवा नेता प्रकाश महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय महर्जनले पार्टीलाई थप सुदृढ बनाउँदै समुन्नत देश निर्माणमा योगदान गर्ने संकल्पसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका महर्जन १२औँ महाधिवेशनदेखि हालसम्म लगातार कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्।
उनले २०६० सालमा शंकरदेव क्याम्पसको स्ववियु सचिव तथा सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्यसमेत रहेका महर्जनले लामो समय पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
महर्जनले आफ्नो राजनीतिक यात्राको आधार ‘संघर्ष, सेवा र इमान्दारिता’ रहेको बताएका छन्।
अब पार्टीको केन्द्रीय नेतृत्वमा रहेर कांग्रेसलाई थप बलियो बनाउन तथा देश निर्माणमा भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी आइतबारदेखि सुरु हुँदैछ।
