काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरलाई १६ थान कम्प्युटर सेट सहयोग प्राप्त भएको छ। Kiwanis Children Fund Nepal (KCFN) र श्री प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा ब्यूरोलाई कम्प्युटर सेट सहयोग गरिएको हो।
ब्यूरोमा आयोजित कार्यक्रममा CPU, Monitor, Keyboard र Mouse सहितका १६ थान कम्प्युटर सेट हस्तान्तरण गरिएको हो।
ब्यूरोका शाखा कार्यालयहरूलाई प्रविधिमैत्री तथा आवश्यक साधनस्रोतले सम्पन्न गराई दैनिक प्रशासनिक तथा अपरेशनल काम–कारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ।
कम्प्युटर अभावका कारण कार्यालय सञ्चालनमा देखिएको प्राविधिक कठिनाइलाई सहयोगले केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा Kiwanis International Nepal का गभर्नर डा. रामशरण थपलिया, KCFN Chair सुरेश अधिकारी, KCFN Past Chair शमशेर पराजुली र KCFN Treasurer हरिशरण थपलिया सहभागी थिए।
कार्यक्रममा बोल्दै Kiwanis International Nepal का गभर्नर डा. रामशरण थपलियाले प्रविधि र आवश्यक साधनस्रोतको उपलब्धताले प्रहरीको दैनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
लागुऔषध नियन्त्रणजस्तो संवेदनशील क्षेत्रमा कार्यरत प्रहरी कार्यालयलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।
उनले समाजमा लागुऔषधको समस्या नियन्त्रण गर्न प्रहरीको प्रयाससँगै विभिन्न संघसंस्था र निजी क्षेत्रको सहकार्य पनि आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा समेत सम्भव सहयोग र सहकार्यका लागि Kiwanis प्रतिबद्ध रहेको बताए।
कम्प्युटर सेट ग्रहण गर्दै लागुऔषध नियन्त्रण ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराले सहयोगी संस्था तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरे। सो अवसरमा एसएसपी बोहराले सहयोगी प्रतिनिधिहरूसँग ‘मायाको चिनो’ (Token of Love) आदान–प्रदान गरेका थिए।
