काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा निर्मम ढंगले प्रस्तुत हुन मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।
मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी पौडेलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
निरीक्षण तथा भेटघाटका क्रममा उनले सीमावर्ती क्षेत्रमा कार्यरत कमाण्डर, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासँग सीमा सुरक्षा र समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे जानकारीसमेत लिएका थिए।
आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, आपसी समन्वय र जिम्मेवारीका साथ काम गर्न कमाण्डरहरूलाई निर्देशन दिए।
उनले सीमा क्षेत्रमा हुने चोरी–तस्करीलगायतका सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणका लागि समयमै योजना बनाएर परिचालन हुन र नतिजामुखी काम गर्न स्पष्ट निर्देशन दिएका छन्।
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सुरक्षा निकाय, सम्बन्धित सरकारी निकाय र स्थानीय समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।
