काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा अब फायर एक्स्टिङ्गुइशर (अग्निनियन्त्रक यन्त्र) अनिवार्य गर्ने तयारी गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक सवारीसाधनको अनुगमनमा कडाइ गर्ने तयारी गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको छ।
विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायतका कारण जुनसुकै बेला सवारीमा आगलागी हुनसक्ने भएकाले सुरुवाती अवस्थामै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्नु आवश्यक रहेको उनले बताएका छन्।
ट्राफिक प्रहरीले रुट परमिटसँगै सवारीसाधनमा प्रयोगयोग्य अवस्थामा रहेको फायर एक्स्टिङ्गुइशर भए/नभएको समेत जाँच गर्ने तयारी गरेको छ।
ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक सवारीको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक यन्त्रको अवस्था र प्रयोगयोग्यताको नियमित अनुगमन गरिनेछ। मापदण्ड पूरा नगरेका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने उनले बताएका छन्।
ट्राफिक प्रहरीको यो तयारी विशेषगरी यात्रुवाहक सार्वजनिक सवारीमा हुने आगलागीका घटना नियन्त्रण तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अघि बढाइएको हो।