भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशनमा सहमतिको नाममा निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजिएको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ।
११ गतेदेखि सुरु भएको मनोनयन प्रक्रिया आज १५ गतेसम्म चलिरहेको अवस्थामा कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकामा स्पष्ट व्यवस्था नभएको प्रावधान प्रयोग गरी ५१ प्रतिशत क्षेत्रीय प्रतिनिधिको हस्ताक्षर संकलन गरेर अधिवेशन सर्वसम्मत भएको घोषणा गर्न खोजिएको एक उम्मेदवारले आरोप लगाएका छन्।
असन्तुष्ट पक्षले निर्वाचनलाई नै लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण आधार भन्दै उम्मेदवारको निर्वाचन लड्ने अधिकार कुण्ठित गर्न नहुने जनाएको छ।
उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो। निर्वाचनलाई लत्याउन खोजिँदैछ। खबरदार, उम्मेदवारको अधिकार हनन गर्न पाइँदैन।’
केन्द्रीय समितिले पठाएको निर्वाचन समितिलाई केही नेताको निर्देशनमा प्रभावहीन बनाउन खोजिएको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको छ। उनीहरूले यस्तो गतिविधिले कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रश्न उठाउने बताएका छन्।
सहमतिको नाममा जबरजस्ती सर्वसम्मत घोषणा गर्न खोजिए निर्वाचन प्रक्रिया नै बिथोलिन सक्ने चेतावनीसमेत असन्तुष्ट पक्षले दिएको छ।
यद्यपि, ५१ प्रतिशत हस्ताक्षरबाट सर्वसम्मत घोषणा गर्ने प्रावधानबारे सम्बन्धित निर्वाचन समिति वा पार्टी नेतृत्वको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
