रुपन्देही । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको सुनका गहनासहित रुपन्देहीमा एक महिला पक्राउ परेकी छन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो।
असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरका सुनजस्ता देखिने विभिन्न गहना बरामद गरेको थियो।
बरामद गहनाको परीक्षण तथा परिमाण यकिन गर्न असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणका क्रममा उक्त गहनामा १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ।
पक्राउ परेकी पटेललाई बरामद गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ।
बरामद गहनामा हार ९ थान, औँठी ८१ थान, चुरा १३ थान, माला ४ थान, हसुली किसिमका सिक्री ८ थान, पत्थरसहितका झुम्का २० थान, झुम्का २४ थान, गोली औँठी १४ थान, लकेट/जन्तर १ थान, पोते १७ थान, सिक्री २४ थान, बाली तथा जुली १८८ जोर, पत्थरसहितका टप ६४ जोर, नाकको फुली २२ थान, पत्थरवाला हार २ थान, सानो झुम्का १० थान, कानको बाली ११ जोर र ब्रासलेट ८ थान रहेका छन्।
