काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर एक व्यक्तिसँग ठगी गर्न खोजेको आरोपमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक तथा मेनपावर व्यवसायी कृष्ण पौडेल पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पौडेललाई पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार पौडेलले ‘काम मिलाइदिन्छु’ भन्दै एक व्यक्तिलाई प्रलोभनमा पारेको र ठगीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनासँग सम्बन्धित केही प्रमाणसमेत फेला परेको एसएसपी घिमिरेले बताए। ‘काम मिलाइदिन्छु भनेर ठग्न खोजेको केही प्रमाण भेटिएका छन्, हामी अनुसन्धान गर्दै छौँ,’ घिमिरेले भने।
पौडेल सोमबारदेखि प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ। उनले काम मिलाइदिने भन्दै कसको नाम वा पहुँचको सहारा लिएका थिए भन्ने विषय भने प्रहरीले खुलाएको छैन।
प्रहरीले घटनामा अन्य व्यक्ति वा पक्षको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप तथ्य र प्रमाण खुलेपछि मात्रै घटनामा संलग्न व्यक्तिको भूमिका तथा आरोपको वास्तविक स्वरूप स्पष्ट हुने प्रहरीले जनाएको छ।
पौडेलविरुद्ध प्रहरीले हाल अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
