रौतहट । सिरहामा सशस्त्र प्रहरीको संयुक्त टोलीले एकैपटक एक टनभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्तिहरू गाँजा बोकेको बोलेरो र मोटरसाइकल छाडेर फरार भएका छन्।
सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलाको पुलमा बुधबार राति करिब साढे १२ बजे विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा २६ बोरामा राखिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार नम्बर ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित संयुक्त टोलीले गाँजा बरामद गरेको हो।
कारबाहीमा गण हेडक्वार्टरबाट इन्स्पेक्टर राजेश आचार्यको कमान्डमा १५ जना, गोलबजारबाट इन्स्पेक्टर केशवबहादुर शाहीको कमान्डमा ७ जना र सुखीपुरबाट सई अंगद हरिजनको कमान्डमा ७ जना गरी २९ जना सशस्त्र प्रहरी परिचालन भएका थिए।
प्रहरीका अनुसार घटनास्थलबाट बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
एकैपटक ११ सय किलोभन्दा बढी गाँजा
एकैपटक ११ सय किलोभन्दा बढी गाँजा बरामद हुनुले उक्त क्षेत्र हुँदै ठूलो परिमाणमा लागूऔषध ओसारपसारको प्रयास भइरहेको देखाएको छ।
प्रहरी टोली पुगेपछि गाँजा बोकेको सवारीसाधन छाडेर संलग्न व्यक्ति फरार भएकाले बरामद गाँजाको स्रोत, सम्भावित गन्तव्य र ओसारपसारमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, बोलेरो र मोटरसाइकल नम्बर ७ गण हेडक्वार्टर सिरहामा ल्याइएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धानपछि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
