धनगढी । सुदूरपश्चिममा कार्यरत एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत बैतडीको सिगास गाउँपालिका–३ कफल्गोडाका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा सोमबार अमरगढी नगरपालिका–५ स्थित जंगल क्षेत्रमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
बोहरा चितवन दरबन्दी भएका प्रहरी जवान हुन्। स्रोतका अनुसार चार दिनअघि मात्रै चितवन दरबन्दीमा जानुपर्ने भएपछि उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट रमाना बुझेका थिए।
प्रहरी स्रोतका अनुसार बोहराले सोमबार आफ्नी श्रीमतीलाई आफू झुन्डिन लागेको अवस्थाको तस्बिर पठाएको खुलेको छ। त्यसपछि परिवार तथा आफन्तले उनको खोजी गरेका थिए। खोजीका क्रममा उनलाई अमरगढी–५ स्थित जंगलमा झुन्डिएको अवस्थामा फेला पारिएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
