विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन्। प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि भागदौड मच्चिएको हो।
प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलाबाट हामफालेका थिए। हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ।
एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार राति करिब ११ः३० बजे प्रहरी टोली गस्ती गर्दै सरोचिया पुगेको थियो। सो क्रममा मानिसहरू होहल्ला गर्दै भागिरहेको देखेपछि प्रहरी घटनास्थल पुगेको थियो।
पासवानको घरमा पुगेर बुझ्दा तास खेलिरहेको खुलेको र प्रहरी आएको देखेपछि भाग्ने क्रममा भागदौड भएको एसपी कटवालले बताए।
प्रहरीले घटनास्थलबाट मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको जनाएको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कटवालले बताए।
प्रहरी टोली पुगेपछि भएको भागदौडमा अन्य केही व्यक्तिलाई समेत सामान्य चोट लागेको बताइएको छ। स्थानीयका अनुसार पासवानको घरमा नियमितजस्तै तास खेल्न मानिसहरू भेला हुने गरेका थिए। प्रहरीका अनुसार उक्त स्थानमा तास खेल्न अन्य स्थानबाट समेत मानिसहरू आउने गरेको पाइएको छ।
तस्बिर : प्रदेश खबर
