काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिन पुगेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले पक्राउ गरेपछि उनको अवस्था बुझ्न आइतबार टेकुस्थित कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रवेशमा रोकिएको विषयमा आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।
आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली राणालाई भेट्न टेकु पुगेको थियो। तर, आयोगको टोलीलाई करिब एक घण्टासम्म कार्यालयको गेटमै रोकिएको थियो।
घटनाबारे स्पष्टीकरण लिन आयोगले एसएसपी खड्कालाई मंगलबार बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन पत्र पठाएको थियो। सोही पत्रअनुसार खड्का मंगलबार साढे ११ बजे आयोग पुगेका हुन्।
आयोगले घटनाको क्रममा मानव अधिकार अनुगमनका लागि पुगेको आफ्नो टोलीलाई प्रवेशमा रोकिएको विषयलाई लिएर एसएसपी खड्कासँग आवश्यक जानकारी तथा स्पष्टीकरण लिन लागेको हो।
अब आयोगसमक्ष एसएसपी खड्काले उक्त घटनाको अवस्था, आयोगको टोलीलाई प्रवेशमा रोकिएको कारण तथा प्रहरीको तर्फबाट भएको व्यवस्थाबारे आफ्नो धारणा राख्नेछन्।
