काठमाडौं । राष्ट्र र जनताको सुरक्षाका लागि कर्तव्यमा खटिँदा प्रभावित बनेका नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारका लागि नेपाल प्रहरीले महत्वपूर्ण तथा ऐतिहासिक कल्याणकारी निर्णय गरेको छ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका क्रममा प्रत्यक्ष प्रभावित बनेका प्रहरी कर्मचारीका परिवारलाई लक्षित गर्दै नेपाल प्रहरी नीति निर्माण समितिले दीर्घकालीन राहत र पुनःस्थापनासम्बन्धी निर्णय गरेको हो।
समितिको २०८३ असोज १२ गते बसेको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर (मास्टर्स) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
कर्तव्यपालनका क्रममा प्रहरी कर्मचारीले भोग्नुपरेको जोखिम र उनीहरूको परिवारले व्यहोर्नुपरेको असरलाई ध्यानमा राख्दै शिक्षा क्षेत्रमा यस्तो दीर्घकालीन सहयोगको व्यवस्था गरिएको हो।
यससँगै प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनाका लागि समेत विशेष कार्यक्रम अघि बढाउने निर्णय भएको छ। परिवारका सदस्यहरूको आवश्यकता र क्षमताका आधारमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको उचित व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ।
विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारलाई शिक्षा, सीप र रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले निर्णय गरिएको हो।
नेपाल प्रहरीको यो निर्णय तत्कालीन राहतमा मात्र सीमित नरही प्रभावित प्रहरी परिवारको भविष्य सुरक्षित गर्ने दीर्घकालीन कल्याणकारी कदमका रूपमा अघि आएको छ।
कर्तव्यमा खटिँदा प्रभावित प्रहरी कर्मचारीका सन्ततिको शिक्षादेखि परिवारका सदस्यको रोजगारीसम्मको जिम्मेवारी संगठनले लिन खोज्नुले प्रहरी कर्मचारीको योगदानप्रति संगठनको जिम्मेवारी र प्रतिबद्धता झल्काएको छ।
