काठमाडौं । लामो समयदेखि कार्यालयमा गैरहाजिर भई सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले अन्तिम अवसर दिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित तोकिएको अवधिभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्नेछ।
प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ।
अब तोकिएको सात दिनभित्र पनि उनीहरू कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली, २०७१ का नियम ११३ र १०९ बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रधान कार्यालयले स्पष्ट चेतावनी दिएको छ।
यससँगै लामो समयदेखि गैरहाजिर रहेका ती प्रहरी कर्मचारीको सेवामा रहने वा नरहने विषय अब उनीहरूले तोकिएको समयभित्र दिने स्पष्टीकरण र उपस्थितिमा निर्भर हुनेछ।
प्रधान कार्यालयले सम्बन्धित प्रहरी कर्मचारीलाई ‘अन्तिम मौका’का रूपमा सार्वजनिक सूचना जारी गरेको हो।

