काठमाडौं । नेपाल प्रहरीले पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (पीएलएससी) ब्याच–३ को प्रवेश परीक्षा मंसिर १८ गतेदेखि सञ्चालन गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले प्रवेश परीक्षासम्बन्धी कार्यादेश, २०८२ बमोजिम परीक्षामा सहभागी हुने उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रवेश परीक्षा मंसिर १८ गतेदेखि २३ गतेसम्म महाराजगञ्जस्थित तालिम केन्द्रमा सञ्चालन हुनेछ। प्राप्त आवेदन, निर्धारित योग्यता तथा पूर्वशर्त पूरा गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक नामावलीमा नाम समावेश भएका तर परीक्षामा सहभागी हुन नसक्ने वा स्वेच्छाले सहभागी नहुने उम्मेदवारलाई तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा जानकारी गराउन भनिएको थियो।
त्यस्तै, नामावलीमा समावेश उम्मेदवारहरूले आवश्यक कागजात तथा प्रमाणसमेत तोकिएको समयभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
