काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेसँगै उनका भाइ प्रभुशमशेर जबराको विगत पनि फेरि चर्चामा आएको छ। जबरालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि उनका भाइ प्रभुशमशेरसँग जोडिएका पुराना छानबिन, अदालतमा बिचौलियाको भूमिका र सम्पत्तिसम्बन्धी विवादसमेत फेरि सतहमा आएका हुन्।
प्रभुशमशेरमाथि विगतमा अदालतका मुद्दामा बिचौलियाको भूमिका खेलेको र न्यायिक ‘सेटिङ’मा संलग्न भएको आरोप लाग्दै आएको थियो। यस्ता आरोपकै बीच २०७९ असारमा प्रकाशित एक रिपोर्टमा उनी सिभिल सहकारीको ठगी मुद्दासँग जोडिएको घुस लेनदेनको अडियो प्रकरणमा छानबिनको दायरामा परेको र न्याय परिषद्को प्रारम्भिक छानबिनमा मध्यस्थकर्ताका रूपमा देखिएको दाबी गरिएको थियो।
सोही आधारमा उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको समाचारमा उल्लेख थियो।
त्यस घटनाको पृष्ठभूमि आठ अर्ब रुपैयाँको सिभिल सहकारी ठगी प्रकरणसँग जोडिएको थियो। इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको भनिएको अडियो सार्वजनिक भएपछि त्यसको ‘कनेक्सन’ खोज्ने क्रममा प्रभुशमशेरको नामसमेत चर्चामा आएको थियो।
प्रभुशमशेरको नाम चोलेन्द्रशमशेर जबराको प्रधानन्यायाधीश कार्यकालमा अदालतका मुद्दामा हुने भनिएको ‘सेटिङ’सँग पनि जोडिँदै आएको थियो। अनलाइनखबरले २०७८/७९ तिर प्रकाशित गरेको रिपोर्टमा जबराको नेतृत्वमा सर्वोच्च अदालतमा मुद्दा प्रभावित पार्न खोजिएको आरोपबारे विभिन्न न्यायाधीश, कानुन व्यवसायी र न्याय प्रशासनका अधिकारीसँग गरिएको कुराकानी प्रस्तुत गरेको थियो।
आइप्लेक्सदेखि जग्गा कारोबारसम्म
प्रभुशमशेरको नाम सबैभन्दा बढी चर्चामा आएको अर्को विषय नयाँ बानेश्वरस्थित आइप्लेक्स मल हो।
२०७८ पुसमा प्रकाशित एक रिपोर्टमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रभुशमशेरको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको र आइप्लेक्स मलको स्रोतसमेत अनुसन्धानको विषय बनेको उल्लेख थियो। उक्त रिपोर्टमा मलको भवन प्रभुशमशेरको नाममा रहेको दाबी गरिएको थियो।
त्यसैगरी, अनलाइनखबरले २०७८ कात्तिकमा प्रकाशित गरेको खोजमूलक सामग्रीमा अदालतमा विवाद चलिरहेको एउटा घरजग्गा कारोबारमा प्रभुशमशेर प्रवेश गरेको र घर खाली गराउने प्रयास गरेको विवरण सार्वजनिक गरेको थियो। उक्त सामग्रीमा उनीमाथि धम्की दिएको आरोपसमेत लगाइएको थियो।
प्रभुशमशेरको सम्पत्तिसम्बन्धी विषयमा चोलेन्द्रशमशेर जबराले भने आफू र भाइबीच २०५९ सालमै अंशबन्डा भइसकेको र भाइको नाममा कति सम्पत्ति छ भन्ने आफूलाई जानकारी नभएको बयान महाभियोग सिफारिस समितिमा दिएका थिए।
अहिलेको प्रश्न के हो?
चोलेन्द्रशमशेर जबरा अहिले प्रहरी हिरासतमा पुगेपछि उनका भाइसँग जोडिएका यी पुराना प्रकरणहरू फेरि चर्चामा आएका हुन्। त्यसैले प्रभुशमशेरलाई प्रहरीले निगरानीमा राखेको हुनसक्ने बताइएको छ।
यसअघि भने प्रहरी निगरानीमा राख्न जानकारी गराइएको, सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानिएको र अदालतका मुद्दामा बिचौलियाको भूमिका खेलेको आरोपसहित उनका नाम जोडिएका समाचारहरू प्रकाशित भएका थिए।
त्यसैले चोलेन्द्र पक्राउको नयाँ घटनासँगै प्रभुशमशेरसँग जोडिएका ती पुराना फाइल फेरि खुल्छन् कि खुल्दैनन् भन्ने विषय अहिले चासोको विषय बनेको छ।
