काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा रहेका छन्।
महाराजगन्जस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ल्याइएको हो।
यसैबीच, जबराको सुरक्षामा खटिएका दुई जना व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाहिर रहेका छन्। उनीहरू अहिले कार्यालय कार्यालय प्रमुखको कार्यकक्ष बाहिर बसेर जबराको अवस्थाबारे जानकारी लिइरहेका छन्।
मध्यराती जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि पीएसओहरुले आफू पनि जाने भनेपछि सँगै गएको बताइएको छ। अहिले जबरालाई सोधपुछ गर्ने काम भइरहेको स्रोतले बतायो।
उनीमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर सोधपुछ थालिएको स्रोत बताउँछ।
जबरालाई कुन आरोपमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
