काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ पुर्जीबिनै राति ३ बजे महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको दाबी गरिएको छ। उनलाई ‘ठूलो अनुचित लेनदेन’सँग सम्बन्धित आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई गएराति करिब ३ बजे घरबाटै नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का स्वयं जबरालाई पक्राउ गर्न गएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार जबराविरुद्ध कुनै मुद्दा दर्ता भएको छैन भने उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको छैन। त्यसका बाबजुद उनलाई नियन्त्रणमा लिएर काठमाडौंकै एक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताइएको छ।
जबरालाई ‘ठूलो अनुचित लेनदेन’सँग सम्बन्धित प्रमाणसहितको आरोपमा पक्राउ गरिएको स्रोतको दाबी छ। यद्यपि, उक्त आरोप के विषयमा हो र प्रहरीले दाबी गरेको प्रमाण के हो भन्नेबारे भने औपचारिक रूपमा खुलाइएको छैन।
स्रोतका अनुसार जबरालाई पक्राउ गर्ने आदेश राति अकस्मात् मौखिक रूपमा आएको थियो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी खड्का कार्यालयबाहिर रहेका बेला आदेश आएपछि उनी स्वयं जबरालाई पक्राउ गर्न पुगेको बताइएको छ।
घटनाबारे बुझ्न अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीलाई फोनमार्फत सम्पर्क गर्दा आफूलाई यस विषयमा केही थाहा नभएको प्रतिक्रिया दिएका छन्।
सामान्यतया कुनै व्यक्ति पक्राउ परेपछि सम्बन्धित कार्यालयको सूचना संयन्त्रलाई जानकारी गराउने प्रचलन रहे पनि पूर्वप्रधानन्यायाधीशजस्तो उच्च पदमा रहेका व्यक्तिको पक्राउबारे सूचना अधिकारी नै अनभिज्ञ रहेको विषयले प्रहरीको कार्यशैली र घटनाको प्रक्रियामाथि प्रश्न उठाएको छ।
पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको दाबी, राति आएको मौखिक आदेश र ‘ठूलो अनुचित लेनदेन’को आरोप—घटनाका यी तीनै पक्षबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।
